भर्खर विवाह बन्धनमा बाँधिएका म्याग्दी मालिका गाउँपालिका–६ रातोढुङ्गाका रोका दम्पतीले बाढीमा ज्यान गुमाए

कुहूँ २०७८ असार २३, बुधबार




म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गाका गजिन रोका र बिना रोका गत जेठ महिनामा मात्रै विवाह बन्धनमा बाँधिएका थिए । महिना दिन पुग्दा नपुग्दै दुवै जना एकसाथ बिदा भए ।

जिल्लाकै मङ्गला गाउँपालिका–५ छिस्वाङमा उनीहरु पसल गरी बसेका थिए । झोलुङ्गे पुल नजिकै भएकाले व्यवसाय राम्रै चलेको थियो । मंगलबार रातिको अविरल बर्षाले नजिकैको खहरे खोला उर्लियो । र, सोहि बाढीमा परेर रोका दम्पतीले ज्यान गुमाए ।

खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा गजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए।


इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका थिए । गजिनको शव पहिल्यै भेटियो भने विनाको पछि भेटियो । उनीहरुको हातमा चप्पल समेत समातेको देखिएकाले भाग्ने प्रयास गर्दा गर्दै बाढीमा हेलिएको अनुमान गरिएको छ ।


खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।


 

Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |